अभिनेत्री प्रियंका कार्की भन्छिन: पहिले तारिफ र प्रशंसा गर्नेहरूलाई अहिले किन आपत्ति? गर्भ रहेको पेट किन समस्या भएको हो ? (भिडियो)
पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका कार्कीले गर्भवती फोटा राखेका कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना खेप्नुपरेको छ । कतिपयले गर्भ रहेको पेट देखाएर ‘अंग प्रदर्शन’ गरेको भन्दै टिप्पणी गरेका छन् भने अरू धेरैले उनको समर्थन गर्दै शुभकामना दिएका छन्।
प्रियंका भने यी सबै कुराले आफूलाई प्रभाव नपार्ने बताउँछिन्। भन्छिन्, ‘आमा बन्नु एकदम खुसीको कुरा हो। म आफ्नो खुसी बाँड्न मन पराउँछु। म जस्तो छु, त्यस्तै देखाउन पनि चाहन्छु। मैले त्यही खुसी सामाजिक सञ्जालमा सेयर गरेकी हुँ। मलाई नराम्रो भन्नुमा मेरो केही दोष छैन। दोष देख्नेको मलाई वास्ता पनि छैन। राम्रो भन्नेहरू पनि धरै हुनु हुन्छ। उहाँहरूको प्रतिक्रिया देखेर मलाई अझ खुसी लाग्छ।’
विदेशतिर, अझ विशेषगरी कलाकार र सेलेब्रेटीहरूले गर्भावस्थाको फोटो-भिडियो खिच्नु, सामाजिक सञ्जालमा राख्नु, गर्भावस्थाबारे कुराकानी गर्नु सामान्य मानिन्छ। हामीकहाँ भने गर्भावस्था अझै पनि छलफल र कुराकानीको विषय होइन भन्ने मान्यता छ।
प्रियंका भन्छिन्, ‘कति धेरै दिदीबहिनीहरूले मलाई गर्भावस्थाबारे सोध्नुहुन्छ। यसबारे जानकारी होस्, अनुभवहरू बाँडियोस् भनेर पनि म कुरा गरिरहेकी हुन्छ। म गर्भवती हुनुअघि जसरी फोटा राख्थेँ, अहिले त्यसरी नै राखिरहेकी छु। पहिले तारिफ र प्रशंसा गर्नेहरूलाई अहिले किन आपत्ति? गर्भ रहेको पेट किन समस्या भएको हो?’ प्रियंकाको गर्भावस्था अनुभव र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया वरपर रहेर हामीले उनीसँग कुराकानी गरेका छौं।
हेर्नुहोस् उनीसँगको पूरा कुराकानी भिडियोमाः