सर्वदलीय बैठकको निष्कर्ष- ‘एमाले संवाद र वार्ताबाट भाग्यो’
काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।
‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन’, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् । हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’
संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ । एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए । संसद् अधिवेशन अन्त्य गर्ने विषयमा कुनै कुरा नभएको उनले बताए ।
आजकाे बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।