प्रिपेड डलर कार्डमा सर्वसाधारणको आकर्षण बढ्याे
अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ। प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजारभन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले ०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्राको कारोबार गर्न पाउने गरी प्रिपेड कार्ड जारी गर्न पाउने सुविधा दिएको थियो। मंसिर मसान्तसम्ममा बैंकहरुले १८ हजार १ सय ११ वटा प्रिपेड कार्ड जारी गरेको नेपाल राष्ट्र बैंक, विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख रामु पौडेलले जानकारी दिए। “प्रिप्रेड कार्डमा राम्रो आकर्षण देखिएको छ,” उनले भने, “हालसम्म कार्डमा ३९ लाख डलर लोड भएको र त्यसमध्ये १८ लाख डलर खर्च भएको छ।”
नेपालीले अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्दा अवैधानिक बाटोबाट भुक्तानी गर्न थालेपछि राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्ने व्यवस्था गरेको छ। कार्डमार्फत नेपालीले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइनबाट विभिन्न सामान खरिद गर्न तथा छोटो अवधिका कोर्ष तथा तालिम लिनका लागि शुल्क भुक्तानी गर्न समेत प्रयोग गरेका छन्। प्रिपेड कार्ड सुविधाबाट अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सहज भएको पौडेलले दाबी गरे।
राष्ट्र बैंकको निर्देशन अनुसार कार्डबाट पुँजीगत कारोबारको लागि खर्च गर्न नपाइने र कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएसलगायतका कारोबार गर्न नसकिने व्यवस्था छ। यसरी वस्तु तथा सेवा अनलाइनमार्फत खरिद गर्दा त्यसलाई कानुनले प्रतिबन्ध नगरेको हुनुपर्ने पनि प्रावधान छ। तर, अहिलेसम्म बैंकले कार्डमार्फत के कस्तो वस्तु तथा सेवाका खरिद भयो भन्नेबारे राष्ट्र बैंकलाई जानकारी भने छैन। “यसबारे हामीले प्रष्ट रुपमा निर्देशन गरेका छौं,” पौडेलले भने, “बैंकहरुले त्यसै अनुसार कारोबारलाई हेरिरहनु भएको छ।”
बैंकहरुले कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्नेछन्। तर कार्ड जारी गर्नुपूर्व प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको र स्थायी लेखा नम्बर (प्यान)
लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।