फाइजर वा एस्ट्राजेनेकाको दुई–दुई मात्राले भन्दा दुवै खोपको एक–एक मात्रा लगाउँदा बढी फाइदा हुने अक्सफोर्डको दाबी
काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको एक अध्ययनले कोरोना भाइरसविरुद्धको फाइजर र एस्ट्राजेनेकाको एक-एक मात्रा खोप लगाउँदा प्रतिरोधी क्षमता झनै बढ्ने देखाएको दाबी गरेको छ । फाइजर वा एस्ट्राजेनेका खोपको दुई–दुई मात्राले भन्दा दुवै खोपको एक–एक मात्रा लगाउँदा बढी फाइदा हुने अध्ययनमा देखिएको हो ।
यस्तै सोही अध्ययनले दुई डोज एस्ट्राजेनेकाको खोप लगाएको ६ महिनाको अन्तरालमा तेस्रो डोज लगाउँदा शरीरको प्रतिरोधात्मक क्षमताले पनि ठूलो फड्को मार्ने देखाएको समेत दाबी गरिएको छ ।
सोमबार मात्रै सार्वजनिक भएको अक्सफोर्ड विश्वविद्यालयको उक्त अध्ययन रिपोर्टको ‘पियर रिभ्यू’ (आपसमा समीक्षा) समेत भएको छैन । बेलायती लगानीमा भएको उक्त अध्ययनको स्वातन्त्र वैज्ञानिकहरुले समीक्षा गर्न बाँकी नै रहे पनि विश्वमा क्यानडा र युरोपका केही देशले विभिन्न खोपमा यसको प्रयोग गरेर अध्ययन गरिरहेका छन् । केही देशमा भने आपूर्तिका कारण पनि पहिला एउटा खोप र पछि अर्को खोप दिने पनि गरिएको छ । यस्तै पहिलो खोप लगाएका कारण देखिएको स्वास्थ्य समस्याका कारण पनि दोस्रो खोप अर्कै दिइएको उदाहरणहरु पनि छन् । जस्तै युरोपका केही देशमा पहिला एस्ट्राजेनेकाको खोप दिएपनि केहीमा अत्यन्तै दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिएपछि त्यसलाई दिन बन्द गरिएको थियो । तर, पहिलो डोज एस्ट्राजेनेका लगाएकाहरुलाई अहिले फाइजर वा मोर्डनाको खोप लगाउन भनिएको छ ।
कोरोनाको महामारीले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला वैज्ञानिकहरु भने यसलाई नियन्त्रणमा लिने नयाँ उपायको खोजीमा लागिरहेका छन् । अक्सफोर्डसँगको सहकार्यमा निर्माण गरिएको एस्ट्राजेनेका खोप ‘भाइरल भेक्टर’मा आधारित खोप हो । यसले विकृत बनाइएको हानी पुर्याउन नसक्ने कोल्ड भाइरसलाई आनुवंशिक तत्वसहित मान्छेको कोषमा प्रवेश गराउँछ । जसले गर्दा शरीरमा कोरोना भाइरसको स्पाइक प्रोटिन (बाहिरी खोल वा ढाँचा) को उत्पादन हुन्छ र शरीरले त्यस विरुद्ध प्रतिरोधी क्षमताको विकास गर्छ । तर, यो खोपलाई अमेरिकाले प्रयोग गर्ने अनुमति दिएको छैन ।
यस्तै फाइजर वा मोडर्ना भने ‘मेसेन्जर आरएनए’ खोप हुन् । सामान्य भाषामा बुझ्दा यसमा भएका आनुवंशिक तत्व शरीरमा प्रवेश गरेपछि कोषहरुमा प्रतिरोधी क्षमता विकास हुन्छ ।
बेलायत सरकारले विभिन्न खोपलाई ‘मिक्स–म्याच’ गर्ने अध्ययनलाई ‘कोम–कोभ’ नाम दिएको छ । जसमा ८ सय ३० जना स्वयंसेवकहरुले संलग्न रहेका छन् । सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा फाइजर र एस्ट्राजेनेका खोपलाई मिसाइएको भएपनि भविष्यमा मोडर्ना र नोभाभ्याक्सलाई पनि मिसाएर प्रयोग गरिने छ ।
स्वतन्त्र अनुसन्धानकर्ताहरुले भने अध्ययनको तथ्यांकमा केही सीमितता रहेको र यसले बाहिरको वास्तविक दुनियाँभन्दा पनि प्रयोगशालाको वातावरणलाई मात्रै गणना गरेको भनेर आलोचना गरेका छन् । रगतमा भएको एन्टिबडीको मात्राको गणना गर्नु र वास्तविक दुनियाँमा रोगलाग्नु भिन्न विषय भएको उनीहरुको तर्क छ ।
गत साता जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि दोस्रो डोजको रुपमा मोडर्नाको खोप लगाएकी थिइन् । जबकी उनलाई पहिलो डोज एस्ट्राजेनेकाको दिइएको थियो । उनका प्रवक्ताका अनुसार खोपलाई भिन्न–भिन्न खोप लगाउँदा हानी हुन्छ भन्ने डरलाई चिर्नका लागि यसले सहयोग गर्ने छ ।
यस अध्ययनमा ५० वर्ष र माथिका व्यक्तिलाई पहिला एस्ट्राजेनेका वा फाइजरको दुई डोज खोप लगाइएको थियो भने चार सातापछि एस्ट्राजेनेका लगाएकालाई फाइजर र फाइजर लगाएकालाई एस्ट्राजेनेका खोप दिइएको थियो । फाइजरको दुई डोज खोप लगाएकाहरुले पनि कोरोना भाइरसको स्पाइक प्रोटिनविरुद्ध सबैभन्दा धेरै एन्टिबडी उत्पादन गर्न सक्षम भएका थिए । तर, पहिला एस्ट्राजेनेका र पछि फाइजर लगाएकाहरुको पनि दुई डोज फाइजर लगाएकाहरु सरह नै एन्टिबडी उत्पादन भएको थियो । दुई डोज एस्ट्राजेनेका मात्रै लगाउनेहरुको भन्दा एस्ट्रेजेनका–फाइजर लगाउनेहरुमा ९ गुणा बढी एन्टिबडी उत्पादन भएको देखिएको थियो । फाइजरपछि एस्ट्राजेनेका खोपल लगाउनेहरुमा पनि एन्टिबडी उतपादन दुई डोज एस्ट्रेजेनका लगाउनेहरुको भन्दा शक्तिशाली थियो । तर, कुन पहिला र कुन पछि लगाउने भन्ने विषय भने महत्त्वपूर्ण रहेको देखिएको छ ।
यस्तै अध्ययनमा ‘मिक्स–म्याक्स’ गरेर खोप दिँदा टी–सेलको प्रतिरोधी प्रतिक्रिया पनि कुनै एक खोपको दुई डोज लगाएको भन्दा शक्तिशाली हुने देखिन्छ । कुनै पनि समूहमा पहिलो डोज एस्ट्राजेनेका पछि फाइजर लगाउँदा टी–सेलको प्रतिक्रिया झनै शक्तिशाली हुने देखिएको छ ।
यद्यपि अध्ययनमा संलग्न स्वयंसेवकहरुमा सामान्य देखि मध्यम प्रकारको असर भने देखिएको थियो । जुन केही दिनमै आफैं निकोसमेत भएको थियो । अनुसन्धानकर्मीहरुको अनुसार अध्ययनको स्तर सानो भएकोले दुर्लभ प्रकारको असर समात्न भने सकिएको छैन ।
यस्तै एस्ट्राजेनेका खोप निर्माणमा समेत संलग्न रहेका अक्सफोर्डका वैज्ञानिकहरुको समूहले बुस्टर डोजको अध्ययन पनि गरिरहेका छन् । उक्त समूहले गरेको अध्ययनले दुई डोज बीचमा ४५ हप्तासम्मको अन्तराल हुँदा प्रतिरोधी क्षमता बढ्ने देखिएको दाबी गरेको छ । अध्ययनकर्ताहरुले दुई खोप लगाउनका लागि लामो समयको अन्तर निकै शुभ समाचार रहेको बताएका छन् ।