कांग्रेस महाधिवेशन निश्चित : तात्न थाल्यो माहौल
५३ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित, निर्वाचन अधिकृत खटाउन शुरु
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसँगै निर्धारित मितिमा महाधिवेशन हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो ।
यस्तै ६ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने सहमति पनि भएको छ । सहमति लगत्तै पार्टी मुख्यालयमा केही दिनयता भईरहेको जिल्ला सभापतिहरुको रिले अनसन पनि हिजो (शनिबार) रातिबाटै तोडिएको छ । यस्तै हिजो रातिसम्ममा ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकिएको छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका बमोजिम हिजो थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको हो । नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार क्रियाशील सूची सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ । कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ । कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसपछि अधिवेशन शुरु गर्दा वैधानिकताको प्रश्न उठ्ने भएकोले कांग्रेसले भदौ १८ मै वडा अधिवेशन गर्न लागेको हो ।
कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । कांग्रेसमा यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । क्रियाशील सदस्यको सूचीमा जिल्ला सभापतिकै नाम नभेटिएको गुनासो समेत आउन थालेका छन् ।
वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि) चयन गर्ने भएकाले भदौ १८ देखि शुरु हुने स्थानीय तहका अधिवेशनप्रति केन्द्रीय नेताहरूकै चासो बढेको छ । संघीय निर्वाचन क्षेत्रको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ४ हजार १२५ सदस्य निर्वाचित गर्छ । पदेन, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आउने समेत गर्दा करिव ४५ सय केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत खटाएको बताए । ‘समयभित्रै मतदाता (क्रियाशील सदस्यता सूची) र मतदान अधिकृत जिल्लामा पुग्न सकेको ठाउँमा त्यही दिनमा हुन्छ । पुग्न नसके, बाढीपहिरोले रोकिनुपर्ने अवस्था आए अर्को दिन हुन्छ,’ यादवले भने ।
भदौ १४ सम्म ७७ जिल्लाकै क्रियाशील सदस्यता सार्वजनिक गर्ने कार्यक्रम छ । गाउँ / नगरको अधिवेशन भदौ २७, प्रदेश क्षेत्रको असोज १ र संघीय निर्वाचन क्षेत्रको असोज ५ मा हुने तालिका छ । एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन पनि असोज ५ मै हुनेछ ।