को बन्ला अबको अर्थमन्त्री ?
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद तत्कालका लागि समाधान भएको देखिए पनि अब सरकार मा आफ्नो स्थान बनाउन नेताहरुबीच शक्ति संघर्ष शुरु भएको छ ।
यस्तै शक्ति संघर्षको परिणामस्वरूप अर्थमन्त्री डा.युवराज खतिवडा सरकारबाट बाहिरिन बाध्य भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना विपरित खतिवडा बाहिरिएपछि अब प्रधानमन्त्री ओलीले आफ्नो टिम सशक्त बनाउने रणनिति बनाउन लागेको बुझिएको छ।
अहिले खासगरी अर्थमन्त्रीका लागि सबैको नजर रहेको छ । खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्री प्रधानमन्त्री ओली आफैले राखेका छन् ।
नेकपाको विवाद समाधान कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्नुपर्ने भएपनि उनले आफ्नो प्रभाव पार्टी र सरकार दुवैमा कायमै हुनेगरी अगाडी बढ्न खोजेको देखिएको छ ।
पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेपनि उनले त्यसका लागि हतार गरेका छैनन् । किनकी गौतमलाई सांसद बनाएमा उनलाई मन्त्री बन्नबाट रोक्न प्रधानमन्त्री ओलीलाई मुश्किल हुने स्वयं उनले बुझेका छन् । गौतमको व्यक्तित्व र खरो स्वभावले उनी आफैलाई अप्ठ्यारो पर्ने अड्कलका साथ अहिले राष्ट्रिय सभामा सिफारिसका लागि अलमल गरेका छन् ।
उनी पार्टीको स्थायी कमिटीबाट कार्यदलको सुझाव पारित गराएर कम्तिमा अब आफ्नो कार्यकालको बाँकी समय थप किचलो नहोस् भन्ने सुनिस्चित गर्न चाहेको देखिन्छ । यसको सुनिस्चिततापछि मात्र गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने देखि मन्त्रिपरिषदमा हेरफेरसम्मको काम अगाडी बढाउने मनस्थितिमा प्रधानमन्त्री ओली रहेका छन् । यसका लागि भदौ २६ मा गत श्रावण १३ गतेदेखि अवरुद्ध रहेको स्थायी कमिटी बैठक बोलाइएको छ ।
पछिल्ला केहि महिना पार्टीको चरम विवाद र शक्तिसंघर्षले सरकारको दैनिक काम नै अवरुद्ध भएको र अहिले मन्त्रिपरिषद पुर्नगठनको बहसले फेरी सरकारको काममा अस्थिरता आइएको महसुस आमरुपमा भइरहेको छ ।
अब प्रधानमन्त्री ओलीले खासगरी अर्थमन्त्रीमा कसलाई ल्याउछन् भन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली अर्थमन्त्रीमा आफुले भरोसा गर्न सक्ने विश्वास पात्रको खोजीमा छन् ।
यस सुचिमा अहिले प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीका विश्वासपात्र शंकर पोखरेल अगाडी देखिएको प्रधानमन्त्री ओली निकट नेताले खरीबोटलाई बताएका छन् । यद्यपी उनी प्रदेश सांसद रहेकाले उनलाई केन्द्रमा सांसद बनाएर मन्त्री बनाउन लाग्ने प्रक्रिया भने सहज देखिदैन ।
अर्थमन्त्रीमा वामदेव गौतमदेखि विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्मको दाबि रहेको छ । तर प्रधानमन्त्री ओली यी नामहरुमा कन्भिन्स नदेखिएको बताइएको छ । त्यसकारण अहिले उनी अर्थमन्त्री आफैले राखेर खतिवडालाई सल्लाहकारको रुपमा राखेर मन्त्रालयको जिम्मा दिने रणनितिमा समेत प्रधानमन्त्री रहेका छन् । पार्टीले निर्णय गरेपनि खतिवडालाई राष्ट्रिय सभामा पठाउने सम्भावना अझै नसकिएको समेत बताइएको छ । अहिले गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने निर्णय पार्टीबाट हुनु योजनाबद्ध ढंगबाट भएको प्रधानमन्त्री ओलीसहित उनी पक्षको बुझाई रहेको छ । त्यसैले यस बीचमा गौतमलाई फकाउने प्रयास समेत जारी रहेको बताईन्छ ।
अर्थमन्त्रीको रुपमा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डेको नाम अगाडी ल्याइएको भएपनि अहिले उनीहरुको सम्भावना नरहेको ओली निकट एक नेताले खरीबोटलाई बताएका छन् । महासचिव पौडेल अहिले पार्टीको काममै व्यस्त हुनुपर्ने आवस्था छ भने वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पाण्डेलाई ओलीले अहिले विश्वास गरिहाल्ने अवस्था नबनेको उनको तर्क छ ।
एक किसिमले हेर्दा प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सम्भावना देखिन्छ । उनी ओलीका विश्वास पात्र मात्र होइनन्, ओलीका हरेक कदमलाई आँखा चिम्लेर साथ दिने नेता पनि हुन् । अहिले उनी प्रदेश ५ को मुख्यमन्त्रीको रुपमा रहेपनि कार्यदलको सुझाव कार्यान्वयन गर्दा उनले मुख्यमन्त्री छोडेर केन्द्रीय सरकारमा आउने चाहना समेत प्रधानमन्त्री ओलीसँग राखेको बुझिएको छ । अहिले मन्त्रीपरिषद पुनर्गठन हुदैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले समेत पोखरेलको सम्भावनालाई बढाएको देखिन्छ । किनकी कार्यदलको सुझाव पार्टीको स्थायी कमिटीबाट पारित गराएर कार्यान्वयन गर्न पनि केहि समय लाग्ने भएकाले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको बुझिएको छ । तर यसमा उनलाई कसरी केन्द्रमा सांसद बनाउने भन्ने विषय भने जटिल नै रहेको देखिन्छ ।
यसरी हेर्दा प्रधानमन्त्री ओलीका केहि दिन अझै सरकार र पार्टीको सन्तुलन बनाउन मै बित्ने देखिएको छ । अर्थ बाहेक सञ्चार तथा शहरी विकास मन्त्रालय समेत अहिले खाली रहेको छ । अहिले महेश बस्नेत, किसान श्रेष्ठ, विद्या भट्टराई लगायतको समेत मन्त्री बन्ने चर्चा चलेको छ । तर पार्टीभित्रको चरम शक्ति संघर्षले मन्त्रिपरिषद पुनर्गठन झन् जटिल हुदै गएको देखिएको छ ।